गृहपृष्ठ, कविता, साहित्य, संस्मरण

Monday, August 13, 2018

समुन्द्र



शान्त सँग बसेर हेरीरहेको छु
निलो समुन्द्रको हलचल
मेरो छातीभित्र कुदिरहने एक्लोपनाझैं
कुदिरहेको छ, उसको छातीमा एउटा पानिजहाज ।


सोध्न मन लाग्छ आफैलाई,
 कती वटा खोला जोडीएपछी बनेको हो
यो एक्लो समुन्द्र ?
कती वटा सम्बन्ध जोडीएपछी बनेको हुँ
म एक्लो मान्छे ?
साँच्चै बुझ्न गार्हो परीरहेछ  मलाई
सबैबाट छोडीए पछी बनीने हो कि
सबैसँग जोडीए पछी बनीने हो एक्लो ?

सोध्न मन लाग्छ समुन्द्रलाई,
कती वटा सेते हिमालको पसिना चुसेर
बन्यौ तिमी यती विशाल ?
कती वटा कन्दराको आशु निलेर
बन्यौ तिमी यती नुनिलो ?
बुझ्न गार्हो परीरहेछ मलाई
समुन्द्रमा पौडीएको भ्रममा
किन आँशु र पसिनामा पौडीरहेकाछन् मान्छे ?
















Monday, January 1, 2018

एउटा नयाँ दिन, एउटा नयाँ जिन्दगी ।

  अंग्रेजी नयाँबर्ष २०१८ को  रौनक हेर्न र रमाइलो गर्न भनेर साथी र म  हिजो राती ९ बजे कोठाबाट सँगै निस्किएका थियौं ।  कोरियाको उल्सान शहरमा  धेरै बर्षदेखी बसिरहेको भए पनी म उल्सान ग्रायन्ड पार्कमा नयाँ बर्षमा हुने कन्सर्ट र आतसबाजी हेर्न आएको थिएन । यो पटक हेर्न आइयो र भरपुर रमाइलो पनी गरियो । रमाइलो सकेर म टाढाको आफ्नो कोठामा नआई नजिकै रहेको साथीको  कोठातिरै बास बसेँ । नयाँ बर्षको निउमा  सुत्ने समयलाई तन्काएर रमाइलो गरिरहेको मलाई  रातीको  ३ बजे पछी भने आँखाले बिद्रोह गरेर सुत्न बाध्य बनाए । 
 सन् २०१८ को पहिलो  नयाँ बिहानी पनी अरु पुराना बिहानी जस्तै उठ्नासाथ मोबाइल हेरेरै शुरुवात गरियो । बर्ष नयाँ तर बानी पुरानै । हैन लोद्दर लाग्छ क्या हो यो बर्ष पनी ?
मोबाइलमा समय हेरें ९ बजेको रहेछ । समय हेरें त भनेँ तर फेरी समय हेर्न मिल्ने चिज त हैन फेरी । समय आफैमा अदृश्य चिज म बबुरोले के देख्नु । अँ, बरु मैले घडी हेरें भन्न मिल्छ । अझ राम्रो शब्दमा भन्दा मोबाइलको घडी  हेरें भन्दा पनी हुन्छ । जे होस् मैले घडी हेरें ।  

एकाबिहानै मैले समय हेरें कि घडी हेरें भन्ने कुराले मगजमा  तर्क बितर्क गर्न थाले । सामान्य कुरामा पनी असामान्य तर्क बितर्क गर्ने आफ्नै मगजसँग झोंक चलिरहेको थियो मलाई  । चलेर के गर्नु तर्क गर्न छोड्दैन यो । मेरो मगज यो ठान्छ कि, मान्छेले समय  बनाएको हैन बरु समयले मान्छे बनाएको हो । समय त पृथ्वीमा मान्छेको अस्तित्व हुनुभन्दा पहिलेदेखि नै थियो होला । अनि आफ्नो अस्तित्व हुनु अगावै नै  ब्रमाण्डमा विधमान रहेको, आफूभन्दा निकै शक्तिशाली भएको र आफैलाई दास बनाएर राखिरहेको समयसँग बदला लिनको लागी, र उसलाई कमजोर बनाउनको लागी  मान्छेले समयलाई  सेकेण्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना अनि बर्षमा टुक्राउने दुष्प्रयास गरेको  होला । 
समयलाई  टुक्रा पारेर कमजोर पारेको भ्रममा मान्छे प्रत्येक बर्ष नयाँ बर्ष भन्दै उल्लास गरिरहेको छ । उल्लास मनाएर के गर्नु, मान्छे समयको दासताबाट मुक्त हुन सक्ने हैन क्यारे । 

यी दार्शनिक कुरा छोडेर सानो मान्छेले साना-साना  कुरा गर्छु है त अब 
 बिहानै उठेर बाथरुम छिरेपछी बल्ल याद आयो कि हिजो ब्यागमा तुथब्रस राख्न बिर्सेछु । ब्रस किन्न पसल जानको अल्छिले गर्दा आफ्नै दाहिने हातको चोरऔंलामा टुथपेष्ट राखियो र दाँत माझियो ।  त्यसै भनेका हैन रैछन् के, "अल्छिले नजानेको जैसीले जान्दैन ।" तर यहाँ चैं चोरऔंलालाई तुथब्रस बनाउन जान्ने अल्छी नि मै हुँ र जैसि नि मै हुँ । 😉
बिहान ब्रस गर्न नपाएर दिन भरी हुने असजिलोबाट जोगियो । आइडियाले गर्दा । 

 फ्रेस भएर रुमबाट निस्कन लागेको मलाई खाना खाएर जान साथीले गरेको अनुरोधले काम गरेन  । म साथीको रुमबाट निस्किएँ । निस्कने बेला अब  सिधै आफ्नो रुममा जान्छु भन्दै  निस्किएको थिएँ ।  बाटोमा आए पछी भने  मुड चेन्ज भयो ।  लहडी मुडले २०१८ को पहिलो बिहानीको भिडियो खिच्ने आदेश दियो । आदेश मानेर भिडियो खिच्दै हिँडेको बेला ठ्याक्क बिरालोले बाटो काट्यो ।
थुक्क..... यो बर्षको पहिलो बिहानले नै मुड अफ गराई त गयो । 

यति नै बेला टिर्लिंङ.. गर्दै मोबाइलमा म्यासेज आयो ।  हेरेको,साउले खातामा बोनस हाल्दिएको म्यासेज रहेछ । अलि अघि सम्म अफ भएको मुड एक्कासि अन भई त गयो । बिरालोले बाटो काटेको अशुभ हैन शुभ भयो होउ बिहान बिहानै भनेर खुशी हुन नपाउदै साथीकै रुममा ब्याग बिर्सेर आएको कुरा सम्झिएँ फेरी ।  यो बिरालोले सानोतिनो भए पनी लोद्दर त लगाएरै छोड्यो त बा... । 
सिधै कोठामा जान मन लागेन ।  जाने कहाँ त ? आइडिया फुर्यो । बस स्टेसनमा जुन बस पहिले आउँछ त्यहि चढ्ने । जहाँ लैजान्छ त्यतै जाने । 

१२४ नम्बरको बस आयो । चढेँ । कानमा इयरफोन कोचेर मस्तसँग गीत सुनेर सिटमा बसिरहेको मलाई ड्राइभरले बोलाइरहेको रहेछ, थाहै नपाइराको म चैं । किन बोलाएको भनेर सोध्छु त, कहाँ जान हिँडेको तँ भनेर सोध्छ । बस जहाँ सम्म जान्छ त्यहिँ सम्म जाने हो भनेको त फेरी बसको लास्ट स्टेसन नै यहि हो भन्दै हाँस्छ । हत्तेरी...कस्तो हुस्सु म । म यत्तिकै बेपर्वाह घुम्दै हिँडेको कुरा बुझेछ क्यारे, ल ल राम्रोसँग घुम् भन्यो । म बसबाट झरें ।  म झरेको ठाउँ योल्ली रहेछ 
योल्लीबाट ५ मिनेट जति अगाडी हिडेर बस स्टेसनमा बस कुरिरहेको बेला ७१४ नम्बर बस आयो । चढेँ । ७१४ नम्बर बस  कुन कुन ठाउँमा जान्छ भनेर हेरेको इल्सान सामुन्द्रीक किनारमा पनी जाने रहेछ । इल्सान झरेर समुन्द्र  हेर्नुपर्ला भनेर बसमा बसेको आधा घण्टासम्म बस इल्सान जाला भनेको त याङसानमा पो जान्छ त ।  बिहानै बाटो काट्ने बिरालोले एकलट गाली खायो फेरी । तर गल्ति त मेरै हो, याङसानलाई इल्सान पढ्ने । केहि छैन, पहिले याङसान घुमेको थिएन । आज घुमिने भइयो 

याङसानमा झरेर केहीबेर घुमेर बस कुरेको ११३७ नम्बर बस आयो ।  यसले  फेरी बिहान पहिलो चोटी बस चढेकै ठाउँ थेवागाङ ट्रेन स्टेसन निर ल्याइपुर्याएछ ।  एकछिन त झ्याउ पो लाग्यो । कोठातिर जाम् जस्तो नि लाग्यो । तर, समुद्र नहेरी कोठामा नजाने मनको जिद्दीको अघि हार खाएर १०४ नम्बर बस चढेर इल्सान सामुन्द्रिक तटमा झरें । 

वाह.... कस्तो सुन्दर दृश्य । निलो समुन्द्रभन्दा १-२ मिटर  माथी सयौंको संख्यामा सेता चरा ( सायद बकुल्ला ) उडिरहेका, मिठो चिसो सिरेठो चलिरहेको, जोडीहरु अंगालोमा बेरीईरहेका र सेतो फिँज छोड्दै छाल किनारासम्म दौडीरहेका । धित मरुन्जेल समुन्द्र हेरें । चरा हेरें । छालको पानी छोएँ  ।  छालको पानी छुँदा मेरै गाउँको पैताला भिजाउँदै बग्ने साउँखोला मलाई छुन बग्दै बग्दै समुन्द्रसम्म आएको र मलाई छोएको अनुभुती गरें र रोमान्चित भएँ । 
। समुन्द्रको एक छेउमा आगो बालेर ताप्दै गरेकी हजुरआमाको उमेर र उनको उमेर जस्तै बढ्दो क्रममा रहेको  जाडोबारे कुरा गरेँ  । सायद बोल्ने फुर्सद नभएका हरुको शहरमा म उनिसँग २-४ शब्द बोलेकोले होला उनि निकै खुशि भइन् । भोली पनी समुन्द्र घुम्न आउनु, अनि मेरो घर नजिकै छ त्यहिँ गएर सँगै कफी खाउँला भनिन् । सकेसम्म आउनेछु भन्दै म मुस्कुराएँ र बिदा मागेँ ।
२०१८ को पहिलो बिहान बिरालोले बाटो काट्नु शुभ संकेत थियो भन्ने मेरो मनको  दाबि छ  ।  ७१ बर्षे कोरियन बज्यैले परदेशको भूमिमा आमाले जस्तो माया देखाउनु, मेरो कारण उनको मुहारमा खुशी छाउनु, एकाबिहानै समुन्द्रको सुन्दर दृश्य देख्न पाउनु, नघुमेको ठाउँ घुम्न पाउनु, बोनस पाउनु शुभ संकेत नभएर के हुन् ?

 एकछिन,
 एकाबिहानै  बिरालोले बाटो काट्दा अशुभ मान्ने बच्चैदेखी हुर्काएको चेतना पनी त छ नि म सँगै । नाथे चेतना त यो भन्छ कि,  तुथब्रस  बिर्सनु, झोला बिर्सनु, ३-४ वटा बस फेरी फेरी गन्तब्यबिहिन बनेर भौतारिनु, साउले ४ हजार कम गरेर बोनस दिनु यी सब अशुभ संकेत नभएर के हुन् ?

निष्कर्ष,
 मन र चेतनाको आग्रह पूर्वाग्रहबाट बाहिर निस्केर म यो भन्न सक्छु कि यी दिन, यी बर्ष, यो समय, यो जिन्दगी र यो ब्रमाण्ड शुभ र अशुभको मिश्रण हो । राम्रो र नराम्रोको मिश्रण हो । त्यसैले जिन्दगीलाई बेपर्वाह सँग जिउन दिउँ । कथित मान्यताहरुको प्रवाह नगरौं । प्रत्येक  नयाँ दिनलाई  आफ्नो नयाँ जिन्दगी जस्तो गरेर बाँचौ । 😊










Tuesday, December 19, 2017

स्वाभिमान


मालीक,
हजुरले धनमा उमारेको सपना किन्न
मैले मनमा उमारेको सपना बेचेकै हुँ
पछिको लामो आयु किन्ने लोभमा
अहिलेको आफ्नै प्राणवायु बेचेकै हुँ
अग्नी साथ राखेर भन्न सक्छु
गितामा हात राखेर भन्न सक्छु
बुढेसकालको उधारो खुशीको लागी
बैंसको नगद जवानी बेचेकै हुँ
भाग्य टल्काउने लोभको चक्करमा
मोती झैं टल्कने पसिना पनी बेचेकै हुँ !

हान नदिको कसम मालिक,
जिन्दगी रङ्गाउने रातो मसी किन्न
आफ्नै ज्यानको रगत बेचेकै हुँ
 लाखको बिटोको स्पर्श किन्न
बा आमाको न्यानो काख बेचेकै हुँ
हजुर खुशी हुनुहोला भनेर
मैले मेरो संसार बेचेको हुँ
मैले मेरो जगत बेचेको हुँ !

मालीक,
जे किन्न चाह्यो त्यही बेचेको देखेर होला
परिस्थितीले भित्तोसम्म चेपेको देखेर होला
आज त हजुर मेरो स्वाभिमान किन्न पो आउनुभो
मालीक यो कस्तो प्रस्ताव लिएर आउनुभो
मेरो स्वाभिमान किन्ने अभिमानले गर्दा
आज आफ्नै सर्वस्व गुमाउनुभो !

सरी मालिक,
आउन त आउनु भो
तर अब कहिल्यै नफर्किने गरी आउनुभो
हजुरको आत्मालाई शान्ती मिलोस् !!

Sunday, November 12, 2017

राजनैतिक इमान र नैतिकताको पक्षमा

राजनिती गर्ने नेतालाई तिखो प्रश्न सोध्ने रबिन्द्र मिश्र अहिले आफै राजनिती गर्न आइपुगेका छन्  । मलाई उनले राजनितीमा गरेको प्रवेशले केहि आशा गर्न उत्प्रेरित गरिरहेको छ । यसको एउटा कारण उनले बारम्बार उठाउने गरेको इमान र नैतिकताको राजनितीको बहस हो भने अर्को चैं इमान र नैतिकताको राजनितीबाटै देश बदल्ने उनको महत्वाकांक्षा हो । अहिले उनको पक्षमा यो आर्टिकल लेख्दै गर्दा म यो कुरामा पनि सचेत छु कि म उनको अल्पकालीन समर्थक मात्र हुँ । भोली उनले राजनितीमा अबलम्बन गर्ने निती र प्रदर्शन गर्ने नैतिकताको आधारमा सजिलै उनको आलोचक बन्न पनि सक्ने एक सचेत नागरिक हुँ

रबिन्द्र मिश्रलाई मैले बिबिसी नेपाली सेवा मार्फत, उनको फेसबुक ट्वीटर मार्फत र उनले लेखेका आर्टिकल तथा केहि पुस्तकमार्फत थोरैधेरै चिन्न सकेकोछु । बिबिसी मार्फत कडा पत्रकार, फेसबुक ट्वीटर मार्फत परोपकारी भावना र दार्शनिक चेत भएको एक आम मान्छे र उनका पुस्तक तथा लेख मार्फत देश समृद्द भएको हेरेर मर्न चाहने एक आम नेपाली र कविता लेख्न सिक्दै गरेका एक सिकारु कवी । मैले मोटामोटी रुपमा चिनेको रबिन्द्र मिश्र यिनै थिए । तर पछिल्लो समय उनको राजनीतिमा भएको प्रवेश र उनका केहि अन्तरवार्ता हेर्दा मैले उनलाई इमान र नैतिकताको राजनीतीमार्फत देश समृद्द बनाएरै छाड्ने महत्वाकांक्षा बोकेको एक राजनीतिज्ञको रुपमा पनी चिन्न थालेकोछु । उनलाई सधै यसै गरि चिन्न पाइयोस् भन्ने मेरो चाहना पनि छ

उनि देश समृद्द बनाएरै छोड्ने सपना बाँड्ने पहिलो राजनीतिज्ञ हैनन् । देश समृद्द बनाउने सपना देखाएर आफै समृद्द बनेका नेताहरुको नामको लिस्ट तयार पार्ने हो भने अहिले राजनितीमा हालीमुहाली गरिरहेका प्राय सबै नेताहरुको नाम त्यो लिस्टमा पर्नेछ
अब हामी जनताले विचार गर्नुपर्ने कुरा के हो भन्दा, देश समृद्द बनाउन हिडेको नेता मात्र हैन उसको खानादान इष्टमित्र सबै समृद्द बन्ने तर देश र जनता झन पछी झन कंगाल बन्दै जाने स्थिति कसरी बन्यो ? अब हामीले यो प्रश्न आफुले आफैलाई सोध्ने आँट गर्नुपर्छ । यो आँट गर्यौं भने जवाफ पनि अवस्य पाउनेछौं

मैले आफुले आफैलाई प्रश्न गर्दा पाएको जवाफ हो , नेपालका अधिकांश नेतामा राजनैतिक इमान र नैतिकता हुँदै नहुनु नै देश समृद्द नहुनाको सबैभन्दा प्रमुख कारण हो । विभिन्न वाद र तन्त्रमार्फत देश चलाउदा पनि देश समृद्द हुन नसक्नुको मुख्य कारण देशको नेतृत्व गर्नेहरुमा भएको नैतिक पतन नै मुख्य जिम्मेवार छ मिश्रको दलको कार्यकर्ता नभएर पनि म उनको पक्षमा बोल्नुको कारण इमान र नैतिकताको राजनितीमार्फत देश समृद्द बनाउछौं भन्ने उनको कुराले मलाई प्रवाभित पार्न सक्नु नै हो । उनि र उनको दल इमान र नैतिकताको राजनितीमा लगातार लाग्नेछन् भनेर पूर्ण विस्वास गर्ने पक्षमा म छैन । यसको कारण बिगतमा विस्वास गरेका नेता र पार्टीबाट पाएको धोका हो तर मिश्र र उनको पार्टीले भोली इमान र नैतिकताकै राजनिती गर्नेछन् अनि धनवाद र डनवाद उन्मुख हाम्रो राजनितीलाई त्यसबाट अलग गरी मानव कल्याण र देशको समृदीसँग जोड्नेछन् भन्ने आशा चैं गरिरहेको छु

यो सवालमा अहिले हालीमुहाली गरिरहेका पार्टी र नेतालाई विस्वास त परको कुरा उनीहरु सँग त अब आशा गर्नु पनि बेकार र बर्वादी हो भन्ने निष्कर्षमा म पुगेको छु । यो निष्कर्षमा अब हामी धेरै जनताहरु पुग्नै पर्ने भएको छ
देश समृद्द बनाउछु भनेर सपना बाँड्नेको पछी हिजो म पनि लागें, तपाईंहरु पनि लाग्नुभो । त्यसमा न त तपाईंहरुको दोष छ न त मेरो नै दोष छ । तर इमान र नैतिकता गुमाइसकेका नेताका कुरामा तपाईं र म अझै पनि अल्मलिने हो र उनैको पछी लाग्ने हो भने यो देशको यो हालत हुनुमा ति नेताभन्दा धेरै दोषी तपाईं र म हुनेछौं

देश समृद्द पार्छु भन्दै आफै समृद्द हुने नैतिकहिन नेतालाई हैन कि इमान र नैतिकताको राजनितीमार्फत देश समृद्द पार्छौं भन्ने नेतालाई कम्तिमा यो पटक भोट दिएर हेरौं । यसो भन्ने नेताको पार्टीलाई समानुपातिकतर्फ कम्तिमा ३% मत दिएर राष्ट्रिय पार्टी बनाएर हेरौं । देशको नेतृत्व गर्नेहरु पुरानै नैतिकहिन नेताहरु भएछन् भने पनि कम्तिमा संसदमा तिनलाई नैतिकताको राजनिती गर्न खबरदारी गर्ने केहि थान सांसद त जिताउँ । पछी मिश्रले र अन्य पुराना नेताले फेरी पनि पहिलेकै तरिकाले देश चलाउन थालेछन् भने खबरदारी गर्न सँगै सडकमा जाउँला । अहिलेलाई भने मतपत्रमा भएका चुनाव चिन्हमा छाप लगाउँदा इमान र नैतिकताको राजनीतिको वकालत गर्नेहरुको चुनाव चिन्हमा छाप लगाउन आफ्नै मनलाई र हातलाई खबरदारी गरौँ

Saturday, October 28, 2017

प्रेमी चरो


घर मुन्तिरको आरुको रुखमा एउटा हाँगा देखि अर्को हाँगासम्म जाल बुन्दै गरेको माकुरोलाई हेर्दै टोलाइरहेको केटोलाई उसको बुढो बाले खोक्दै बोलायो  "आज पनि ल्याएनस् प्रेमे ?"
नल्याएको  जनाउन केटोले आफ्नो टाउकोलाई पेन्डुलम घडीको सुइजस्तै यताउता हल्लायो 

छोराको टाउको हल्याईसँगै बुढाको बाँच्ने आशा पनि फेरी एकचोटी हल्लियो । दिनमा एकपटक रगत बान्ता हुने बेथाले एक  महिनादेखि बुढो थला परेको थियो । बुढोको पहुँचमा भएका कुनै पनि जडिबुटी र धामीझाँक्रीले उसको  रोग निको पार्न नसकेपछि बा बचाउने आशाको मसिनो त्यान्द्रोले डोहोर्याउँदै एकदिन उसको छोरो प्रेमलाई बुढोलाई डोकोमा बोकाएर साउँखोला पारीको मादी गाउँमा लगेको थियो । मादी गाउँमा हेर्दै रहस्यमयी लाग्ने रुपासे नामको बैद्य बस्थ्यो । रुपासे जस्तै बिरामीलाई पनि निको पार्न सक्ने बैद्यको रुपमा सात गाउँसम्म नाम चलेको बैद्य थियो । केटोले उसको यहि चर्चा सुनेकोले नै आफ्नो बुढो बाउलाई बचाउने  आशाले डोकोमा ५ घण्टा बोकेर यहाँसम्म ल्याएको थियो । 

दुई घण्टाजति पालो कुरेपछि बल्ल बुढोको  जाँच गर्ने पालो आयो । त्यतिबेलै केटोले डोकोको एउटा छेउबाट एउटा कुटुरो निकै जतनसाथ बोकेर आयो र बालाई बचाइदिनुपर्यो हजुर भन्दै हात कपाउँदै त्यो कुटुरो रुपासे बैद्यको अघि राखिदियो । त्यो कुटुरोमा चार माना घ्यु, एक  माना मह र एक पाथी मार्सी धानको चामल थियो । बैद्यलाई दिने पैसा आफुसँग नभएको र आफ्नो बालाई निको पार्दिएमा हरेक बर्ष दुई माना मह ल्याइदिने बाचा गरेपछि मात्र रुपासेले बुढोको जाँच गर्न शुरु गर्यो । 

धेरै बेरको चेकजाँच पछी रुपासेले केटोलाई नजिकै बोलायो र भन्यो "तिम्रो बाको रोग निको हुन्छा । तर अबको एक महिनाभित्रमा सुगा चरोको कलेजोमा तिन दाना टिम्मुर मिसाई माली गाइको  दुधमा उमालेर खुवाउन सके मात्र तिम्रो बा बाँच्छन् । यिनलाई बचाउने  औषधि यहि मात्र हो । अब तिमी बालाई लिएर जाउ । टिम्मुर र माली गाईको दुध चाहिए मेरोमा आउनु । सुगा मार्न छहरा खोलाको बाँसघारीमा जानु ।"

रोग निको हुने कुराले धेरै दिनदेखि मुहार ढाकेर बसेको पिरको बादल हटेर उनीहरुको मुहारमा खुशीको घाम उदाएको थियो । भोलिपल्ट बिहानै हातमा गुलेली लिएर सुगा मार्नको लागी केटो छहरा खोलाको बाँसघारी तिर हिँड्यो । दिनैभरि पर्खदा पनी ढुकुर, कोकले, जुरेली, कोइली लगायत अरु धेरै थरि चराहरु आए र गए तर सुगा भने आएनन् । साँझ केटो एकदमै निराश भएर घर फर्कियो । छोराको निराश अनुहार देखेर बुढोले केटोलाई दबिएको स्वरमा भन्यो " पिर नगर् प्रेमे । मलाई बाँच्न लेखेको रैछ  र तँलाई बाउ बचाउँन लेखेको रैछ भने सुगा भेटिन्छ । सुगा खोज्न अझै उनान्तीस दिन बाँकी छ । चिन्ता नगर् ।"

बुढोको कुराले केटोलाई केहि आत्मबल त मिल्यो तर सुगा मिलेन । बिहानै गुलेली लिएर जाने दिनभर छहरा खोलाको बाँसघारीमा सुगा कुरेर बस्ने अनि साँझ निराश बनेर फर्कने क्रम लगातार एक हप्तासम्म चल्यो । सुगाको खोजीको आठौँ दिन केटोले हातमा गुलेली र मुरली सँगै देखिए । दिनभर सुगालाई पर्खदै बस्दा लाग्ने अल्छी भगाउन मुरली बजाउने सोचेर केटोले मुरली पनि साथैमा बोकेर गएको थियो । मुरली बजाउँदै गर्दा केटोले उदास हुँदै सोच्थ्यो ... मुरली बजाएर बाको मृत्यु पनि भगाउन पाए पो ..

'तिम्रो माया साँइलि यो मनमा कति छ, हेर्छौ भने साँइलि समुन्द्र जति छ....... ' भन्ने आफ्ना बाहरुले गाउने पुरानो गीतको धुन उसले मुरलिमा भरेर सुनाउँदा छहरा खोलाको बाँसघारी साँच्चीकै  संगीतमय बनेको थियो । अघि सम्म चिरबिर गरेका चराहरु पनि शान्त बसेर उसकै मुरलीको धुनमा लठ्ठीएका थिए । यो गीतको धुन उसले तिन चोटी सम्म दोहोराएर बजाएपछी बाँसघारी तिर हेर्यो तर सुगा देखेन । केटोको आशाको घाम डाँडामाथिको घाम जस्तै भएको थियो । उसको आशाको घाम डुब्न नपाउँदै बाँसघारीमा एउटा नारी आवाज  'तिम्रो माया साँइला यो मनमा कति छ, हेर्छौ भने साँइला समुन्द्र जति छ....' भन्दै गुन्जिन थाल्यो । उसले आफ्ना एक जोर आँखा बाँसघारी तिर सोझ्यायो.. त्यहाँ उसले बाँसको टुप्पोमा बसेर बाको औषधिले गित गाइरहेको देख्यो । केटोले हेरेको थाहा पाएपछि त्यो औषधि अर्थात सुगाले गाउन छोड्यो  

सुगा देखेपछी सबैभन्दा पहिले उसले बालाई सम्झ्यो । अनि क्रमैसँग सम्झन थाल्यो.... आफु घोडा बनेर छोराको घोडा चढ्ने रहर पुरा गराउने बाको पिठ्युँ , आफूले हेर्ने उचाईभन्दा माथिबाट सन्तानलाई संसार हेराउन बसाउने बाको काँध र मलाई यसै मर्न दिन्न यसले भन्ने भरोसाले छोरोलाई हेर्ने बाका रसिला आँखा । बा बचाउन सक्ने खुशीले उसको मुटुमा मुल फुट्यो र आँखाबाट रसायो । 

आठौँ दिनसम्मको प्रतीक्षा पछी आएको सुगालाई मार्न उसले आफ्नो गुलेलीमा मट्यांग्रा राखेर गुलेली तन्काउनै लागेको बेला किन किन उसका हात त्यसै लुला भए । आफ्ना हातसँग उसलाई झनक्क रिस उठ्यो । हातलाई झट्कार्दै उसले फेरी सुगालाई निसाना लगाएर गुलेली तन्काउन मात्र के लागेको थियो उसका हात अचानक फतक्क गले र गुलेली पनि हातबाट भुँइमा खस्यो । दोस्रो चोटी पनि सुगा मार्न खोज्दा  हात लुलो भएपछी  केटोले मनमनै सोच्यो .. " यो सुगालाई नमार् भन्ने सन्देश दिनकै लागी सायद  दैवले मेरा हात लुला बनाए गीतको धुन सुनेकै भरमा गीत गाउन सक्ने सुगा पक्कै पनि विद्वान हुनुपर्छ  बाको लागी अर्को कुनै सुगा मार्छु, यो गीत गाउने सुगाको गित सुनेर मज्जा लिन्छु ।"

केटोले मुरली बजाउने अनि सुगाले गित गाउने क्रम त्यो दिनभरी चलिरह्यो । साँझ केटो घर फर्कियो अनि सुगा कतै भुर्र उडेर गयो । बुढोले "आज पनि सुगा देखेनस् ? "भनि सोध्दा केटोले  नदेखेको भनेर झुट बोल्यो । सानोमा कुनै गल्ति गरेपछि गल्ति लुकाउन बाको अघि झुट बोल्दा उ बाको पिटाईबाट जोगिन्थ्यो तर अहिले त उसको बा उसलाई पिट्न नसक्ने गरि थला परिसकेको थियो । थला परेको बाको अघि झुटो बोल्दा उसलाई कसैले मुटुमा थप्पड हानेझैं पिडा भएको थियो । सुगा बाको लागी संजीवनी बुटी जस्तै भएको तर आफुले संजीवनी बुटी भेटेर पनि नल्याएको भन्ने कुरा सोचेर केटोलाई अति नै ग्लानि भयो । भोलि त्यो सुगा भेट भए जसरि नि मारेर ल्याउने अठोट उसले मनमनै गर्यो 

अर्को दिन बिहानै मुख समेत नधोई  गुलेली र मुरली बोकेर केटो बाँसघारी तिर लाग्यो । बाँसघारीमा पुग्न नपाउँदै उसले कसैले 'कति ढिलो आएको ?' भनेर बोलेको आवाज सुन्यो । त्यो आवाज त्यहि सुगाको थियो । सुगाले गीत गाउने मात्र हैन कुरा पनि गर्न जानेको देखेर केटो आश्चर्यमा पर्यो । केटोले सुगालाई कुरा गर्न तल आइज भनेर बोलाउने र उसको घाँटी थिचेर मार्ने योजना मनमनै बनाउँदै भन्यो "ए सुगा.. तिमी त गाउन पनि जान्ने, बोल्न पनि जान्ने । मलाई तिमी एकदम मन पर्यो । आउ तल सँगै बसेर कुरा गरौं ।"

सुगा भुर्र उडेर तल आयो तर केटोको नजिक भने आएन । केटोले नजिक आउन भन्दा उसले मान्छेको विस्वास नलाग्ने कुरा बतायो । केटोले किन बिस्वास लाग्दैन तिमीलाई मान्छेको भनेर सोध्दा सुगा त रुन पो थाल्यो । सुगा रुन थालेपछि  केटो पनि केहि भावुक बन्दै सोध्यो "किन तिमीलाई मान्छेको विस्वास लाग्दैन ? नरोइ बताउ अब त म तिम्रो साथी हो । साथीको त विस्वास गरेर केहि बताउ ।" 

पखेटामा आँशु पुछ्दै सुगाले आफ्नो कहानी भन्न थाल्यो ..." दुइ  बर्ष अघि एउटा सिकारीको उसको जालमा पारेर बा आमा र मलाई तल बजारको रत्ने भन्ने साउलाई बेच्यो । रत्नेले हामी तिनै जनालाई दुई दिनसम्म भाकभोकै पिंजडामा थुनेर राख्यो । दुइ दिनपछि भने खाना दिएर थुनेर राखी  हामीलाई  गीत गाउने र बोल्ने तालिम दिन थाल्यो । म एक महिनामै मान्छे जस्तै बोल्न जान्ने बनें अनि दुइ महिनामा त गीत गाउन पनी जान्ने बनेँ । तर  बा आमाले मान्छेजस्तै बोल्न र गाउन जति सिकाए पनि नसिकेपछी ६ महिनापछि उहाँहरुलाई पिट्दै पिंजडा बाहिर निकाल्यो । उसको पिटाई सहन नसकी बाले त्यहि प्राण त्याग्नुभयो  अनि आमा भने रत्नेको हात बाट फुत्किएर कतै टाढा उड्नुभयो । त्यो दिनदेखि  म पिंजडामा एक्लै मात्र भइन, टुहुरी पनि भएँ । छ महिनामा मान्छे जस्तै बोल्न र गाउन नजानेको निहुमा मलाई टुहुरी बनाउने पापी रत्नेले भने आफु त्यति बुढो हुन्जेलसम्म मान्छे भएर पनि मान्छे जस्तो हुन सिकेको थिएन । मलाई अचेल सबै मान्छे रत्ने जस्तै लाग्छन् । त्यसैले कोहि मान्छेको पनि विस्वास लाग्दैन । "


सुगा फेरी रुनथालि । सुगा रोएको देखेर केटो एकदमै दुखी भएको थियो । टुहुरी भएँ भन्ने सुगाको कुराले यो पोथी सुगा रहिछ भन्ने उसले सोचिरहेको थियो । अघि सम्म घाँटी थिचेर मार्ने सोचेको सुगालाई अहिले भने उ माया गर्न थालिसकेको थियो । सायद मायाको भाषा चरोले पनि बुझ्ने रहेछ क्यारे अघिसम्म टाढा बसेकी सुगा अहिले उसको आडैमा आएर बसेकी थिइ । आडैमा बसेकी सुगालाई हातमा लिएर आफूतिर फर्काउँदै केटोले सोध्यो " अनि तिमी पिंजडाबाट कसरि भाग्यौ त ?" 

सुगाले रत्ने साउको सानो छोरोलाई रत्ने घर नभएको बेलामा यदि उसले  पिंजडा खोलिदियो भने  आफुले उसलाई मिठाइको रुख भएको ठाउँ देखाइदिने भनेर फकाई त्यहाँबाट भागेको कुरा सुनाई । यो कुरा सुनाउँदा उ एकदमै राम्री देखिएकी थिइ ।  दिनभरी अनेक थरि  कुरा गरेर भोलि  बिहानै भेट हुने सहमतिमा साँझ केटो घर फर्कियो । सुगा पनि भुर्र उडेर कतै गई । सधै निराश बनेर फर्कने छोरो आज खुशी भएर फर्किएको देखेर बुढोको मनमा वसन्तका पालुवाजस्तै आशाका पालुवा पलाए । तर छोरोको सुगा नभेटेको जवाफ सँगै ति सबै पालुवा परिपक्व पात पनि बन्न नपाई ओइलाएर झरे । 

दिनदिनैको भेटघाट र कुराकानीले सुगा र केटो एकदमै मिल्ने साथि बनिसकेका थिए । यसरि उनीहरु भेटघाट गर्न थालेको आज बिस दिन पुगेको थियो । उता बुढोलाई सुगाको कलेजोको औषधि खुवाएर बचाउन सकिने जम्मा दुइ वटा दिन मात्र बाँकी थिए । केटोको बुढो बा प्रतिको वेवास्था हेर्दा उ सक्दो  छिटो आफ्नो बाउको मृत्युको लागी वातावरण मिलाउन तल्लिन छ जस्तै देखिन्थ्यो । बुढोले पनि अब छोरोले सुगा मारेर ल्याएर औषधि बनाई खुवाउला अनि म बाँचौला भन्ने आशा गर्न छोडिसकेको थियो । अचेल बुढोलाई लाग्न थालेको छ कि  संसारमा  सबैभन्दा छोटो आयु आशाको हुन्छ । मान्छे मरेर मुर्दा हुन भन्दा लाखौँ गुणा छिटो आशा मरेर निराशा बन्दोरहेछ । 

यता केटोले भने  सुगालाई अक्षरहरु लेख्न र पढ्न पनि सिकाइसकेको थियो । सुगाले सालको पातमा आफ्नो चुच्चो घुमाई घुमाई लेख्न सिकेकी थिई । केटोले लेख्न भनेको शब्द सालको पातमा लेखिसकेपछि सुगा आँखा झिमझिम पार्दै केटोलाई हेर्थी । सुगाको आँखा झिम्काइको जवाफमा  केटो उसको चुच्चोमा चुप्पा गरिदिन्थ्यो । सुगा लाज मान्दै आफ्नो खुट्टाको नंग्राले भुइँ कोतरेर भुँइमै हेरेर बस्थि । 
अचेल सुगाले केटोलाई 'पेल्मु' अनि केटोले सुगालाई 'सुगी' भनेर बोलाउन थालेका थिए । 

आज सुगा र केटोको भेट भएको एक्काइसौँ दिन हो । आज सुगा केटोसँग प्रेमका कुरा गर्ने मुडमा थिई । आज सुगाको यस्तो मुड हुनुमा हिजो साँझ केटो घरमा गएपछि छहराखोलाको बाँसघारी तलको  रवा ( खोलाको पानि जम्मा भएर गहिरो गरि बनेको तलाउ ) मा बस्ने भुतसँग भएको उसको अप्रत्यासित भेटको ठुलो भूमिका थियो । 

हिँजो साँझ केटो घर गएपछी सुगा पानी खानको लागी त्यही रवातिर जाँदै थिई । जाँदाजाँदै उसले छहराखोलाको छेउमा रहेको उत्तिसको रुख मुनि एउटा भुत ऐया ऐया भन्दै कराउँदै गरेकी देखि । भुत देखेर डरले फर्कनै लागेकी सुगालाई भूतले रुन्चे स्वरमा बोलायो र भन्यो .... "  नडराउ सुगा नडराउ..मेरो ढाडमा बिजेको काँडा निकाल्देउ सुगा म तिमीलाई केहि गर्दैन । काँडा निकाल्दियौ भने म तिम्रो सबै इच्छा  पुरा गर्दिन्छु । म अरुजस्तो भुत हैन, भगवान शिवले  बरदान दिएको भुत हुँ । बिस्वास गरेर सहयोग गर्छौ भने पनि गर गर्दैनौ भने नि नगर ।" 

भुतले आफ्नो हातले ढाडको काँडा निकाल्न खोज्दा सकिराखेको थिएन । यो देखेर सुगालाई दया लाग्यो अनि भुर्र उडेर गएर भूतको ढाडमा बिझेको काँडालाई आफ्नो चुच्चोले निकै मेहनत साथ निकालेर फालिदीइ । काँडा निस्किएपछी भुत ऐया ऐया गर्न छोड्यो र सुगालाई भन्यो " मेरो ढाडको काँडा निकालिदिएर तिमीले मलाई ठुलो गुन लगायौ । अब गुन लगाउने पालो मेरो हो । ल भन तिम्रो इच्छाहरु के के छन्, म सबै पुरा गर्दिन्छु । " सुगाले आफ्नो मरेको बालाई जिउँदो बनाइदिन भनि । भूतले मरेको चिजलाई ज्यूँदो बनाउन भगवानले मात्र सक्ने भएकोले अरु माग भन्यो । सुगाले आफ्नी आमासँग भेट गराईदेउ भनि । भूतले एकछिन निदाएजस्तो गरेर दुखि हुँदै उसकी आमा पनि एक्काइस दिन अघि मरिसकेकीले अब भेट गराउन नसक्ने बतायो । 
सुगाले रुँदै भनि....  " तिमी मेरो केहि पनि इच्छा पुरा गर्न सक्नेरहेनछौ त्यसै झुटो मात्र बोल्यौ ।" सुगाले यसो भनेपछि भूतले आफु अघि पिडाबाट मुक्त हुन तिम्रो सबै इच्छा पुरा गर्दिन्छु भन्नु आफ्नो गल्ति भएपनि तिम्रो अन्य धेरै इच्छा पुरा  गर्न सक्ने क्षमता भने आफुमा भएको भनि सुगालाई फकायो । 

सुगाले झर्कंदै भनि " ल त्यसो भए तिमी मलाई मान्छे र मान्छेलाई सुगा बनाउन सक्छौ ? 
भूतले मुस्कुराउँदै भन्यो " सक्छु । त्यो त एक मिनेटमा सक्छु "

भूतको यो कुराले सुगा बर्षौपछी धेरै खुशी बनेकी थिइ । उसले आफ्नो बालाई पिटेर मार्ने रत्ने साउलाई भाले सुगा बनाएर पिंजडामा थुनेर राख्ने कुरा भुतलाई बताई । अनि भूतले अनि तिमि चैं रत्ने साउ बन्ने भनि सोध्दा उसले आफ्नो टाउको यताउति हल्लाएर नबन्ने कुरा बताई । बरु उसले त पेल्मु र आफ्नो प्रेम कहानी भूतलाई सुनाई । आफु सुगी नाम गरेकी तरुनी केटिमान्छे बन्ने अनि आफ्नो मायालु पेल्मुसँग घरजम गरेर जिन्दगि बिताउने आफ्नो योजना सुनाई ।  उसले  कुराले भुत मुस्कुरायो र भन्यो .. "ओहो कस्तो गज्जब ।"
भुत र सुगा भोलिपल्ट दिउँसो ठिक बाह्र बजे आजकै ठाउँमा भेट्ने र भोलि नै सुगीका इच्छा पुरा गर्ने सहमती गरि छुट्टीए । 



हिजो अस्ति आउने समयमै बिहान केटो बाँसघारीमा आइपुग्यो । तर उसलाई आज केटो निकै ढिलो आएजस्तो लागेको थियो । कारण उ आज रातभर नसुती उसलाई पर्खिएर बसिराखेकी थिइ । उ भुर्र उडेर केटोको काँधमा बसी अनि केटोको ओठमा आफ्नो चुच्चोले मुसारी । सुगीले आज पहिलो चोटी आफ्नो पेल्मुलाई चुप्पा गरि । 
अरु दिनको भन्दा फरक हाउभाउ गरेको देखेर केटोले सोध्यो " के भयो मेरी सुगीलाई आज ? " 
सुगी बोलिन, रोइ मात्र । केटोले धेरैबेर फकाएर सोधेपछि उसले हिजो भुतसँग भएका सबै कुरा बताई । सुगिको कुरा सुनेपछि केटो एकदमै खुशी भयो र जिन्दगीमै पहिलो चोटी खुशीको आँशु रोयो । 

धेरै बेर केटो र सुगी कोहि पनि बोलेनन् । धेरै बेरको मौनता पछी केटोले भन्यो .." सुगी तिमी मान्छे नबन बरु म सुगा बन्छु । मलाई मान्छेको जिन्दगी देखि बैराग लागिसकेको छ । मलाई जालझेलको जिन्दगीदेखी दिक्क लागेको छ । मलाई मान्छेका बेइमानीहरु देख्दा देख्दा मान्छेसँग नै घृणा लाग्न थालेको छ  तिमी मान्छेलाई स्वतन्त्र देख्छ्यौ होला तर खासमा  मान्छे एउटा ठुलो अदृश्य पिंजडामा थुनिएर बाँचेको छ । म पिंजडाबाट बाहिर निस्कन चाहन्छु । म तिमीजस्तै आकाशमा स्वतन्त्र उड्न चाहन्छु । सुगी मा तिमीलाई स्वार्थरहित प्रेम गर्न चाहन्छु । मान्छे भएर निस्वार्थ प्रेम गर्न असम्भव छ सुगी ... त्यसैले म सुगा बन्न चाहन्छु ।"

केटोको कुराले सुगी स्तब्ध बनि । उसले रत्नेलई सुगा बनाउन चाहेको कुरा फेरी दोहोर्याई । केटोले उसलाई सम्झाउँदै भन्यो .." सुगी .. बदला लिने त मन पापी भएका हामी मान्छेहरुले हो, सफा मन भएका पंक्षीहरुले त क्षमा दिनुपर्छ । " केटोको सम्झाउन बुझाउन सक्ने सीपले सुगी उसको मायामा फेरी भुतुक्कै बनि । उ केटोलाई सुगा बनाउन र रत्नेलाई माफी दिन राजि भई 

यतिबेला बिहानको आठ बजेको थियो । केटोले आफु सुगा बन्नु पहिले घरमा एकचोटी बालाई भेटेर बाह्र बजे भित्रै यहाँ आउने कुरा सुगीलाई बतायो र त्यहाँ बाट घरतिर हिँड्यो । सुगिले केटोको घरमा उसको बा पनि रहेछ भन्ने कुरा बल्ल आज थाहा पाई । 
बाह्र नबज्दै केटो बाँसघारीमा आयो । बाह्र बज्न केहि मिनेट मात्र बाँकी भएकोले सुगिले आफ्नो पेल्मुलई सुगा बनाउन ठिक बाह्र बजे भुतकोमा लिएर गइ । भुतलाई देखेर डराइरहेको केटोलाई उसले म छु नि नडराउ भनि भरोसा दिलाई । केटोले यो बेला मनमनै सोच्दै थियो.. "माया भन्ने चिज पनि अचम्मको रहेछ, यति सानी सुगिले यति ठुलो मान्छे मलाई भूतले केहि गरिहालेछ भने पनि पक्कै बचाउछे भन्ने विस्वासले म भुत भेट्न जाँदैछु । आखिर विस्वास नै त रहेछ माया । आखिर माया नै त रहेछ विस्वास । " 


हिजो बाचा गरेजस्तै भूतले केटोलाई एक मिनेटमै भाले सुगा बनायो । केटो सुगा बनेको क्षण केटि जत्ति धेरै खुशी थिई त्यसको दोब्बर दुखि भर्खर बनेको पेल्मु सुगा थियो । पेल्मु सुगाको दुखि अनुहार देखि भूतले रत्ने साउ यहि रहेछ भन्ने अनुमान गर्न नपाउँदै सुगी बोलि.." धेरै धन्यवाद भुत जी.. म र मेरो यो प्यारो पेल्मुले  हजुरको यो गुन कहिल्यै बिर्सनेछौनौं । रत्नेलाई माफी दियौं हामीहरुले । त्यसैले  मेरो पेल्मु सुगा बन्यो । उसलाई म मान्छे बनेको भन्दा उ आफु सुगा बनेको मन पर्छ रे । हजुरलाई फेरी पनि  धेरै धन्यवाद । "

भूतसँग बिदा भएर सुगी भुर्र उडी, उसको पछिपछि पेल्मु पनि भुर्र उड्यो । पहिलो उडान भएर होला उ केहि असहजता महशुस गर्दै उडेको थियो । उ मान्छेबाट चरा बनेको थियो । मन त उनीहरुले धेरै पहिले साटेका थिए तर आज धेरै बेरसम्मका मायाप्रेमका कुराकानी पछी  बाँसघारीको बाँसलाई बिस्तारा बनाएर पेल्मु र सुगीले आफ्नो तनपनि साटेका थिए । 
 अहिले दिउँसो ३ बजेको थियो ।  आफ्नो पखेटाभित्र टाउको लुकाएर सुतेकी सुगीलाई उठाउँदै पेल्मुले भन्यो.... " सुगी ..म उड्दै गएर माथिको ओडार छेउको चिलाउनेको रुखमा तिम्रो लागी एउटा प्रेमपत्र लेखेर तिमीलाई पर्खिराखेको हुन्छु, तिमी ठिक ५ बजे त्यहाँ आउनु ।अनि त्यो प्रेमपत्र पढेर मलाई सुनाउनु ।  त्यतिन्जेल म के गर्छु कता जान्छु हेर्न नपाई है ... झेल्ली गर्न नपाई है ... । सुगीले सहमतिमा  टाउको हल्लाउँछे । पेल्मुले  एकचोटी सुगिको चुच्चोमा चुच्चो जोडेर माया गर्छ अनि सुगीलाई आँखा बन्द गर्न भनि भुर्र उड्छ । उडेर उ ओडार तिर नगई आफ्नो बुढो रोगि  बाको घरतिर जान्छ । 

सुगा बन्नु अघि बालाई एकचोटी भेटेर आउँछु भनि उसले  मालिगाईको दुध टिमुरको दाना गाउँबाट खोजेर ल्याई घरमा राखेको थियो । उसले बालाई यो दुध र तिन दाना टिमुर तिन बजे तिर अगेनोमा  तताउँदै गर्नुहोला ठिक त्यहि बेला एउटा सुगा उड्दै अगेनोमा आई आफै आत्महत्या गरि मर्नेछ । मर्न ढिलो भएपनि हजुरले नमार्नुहोला । उसलाई आफै मर्न दिनुहोला भनि अर्हाएको थियो । बुढोले कुरा नपत्याएको देखेर उसले छहराखोलामा बस्ने  भूतले आफुलाई यो सबै कुरा भनेको  र यसो नगरे बाउछोरा नै मर्न सक्ने बताएको थियो । 
पेल्मु उडेर घर आएको बेला बुढो अगेनामा माली गाईको दुध तताइरहेको थियो । उसले एकचोटी बाको रोगि बुढो अनुहार हेर्यो अर्कोचोटी सुगिको मायालु अनुहार सम्झ्यो अनि अगेनोको आगोमा हाम फाल्यो । 


ठिक पाँच बजे सुगी चिलाउनेको रुख तिर लागी । प्रेमको चिठी पढ्न गएकी चरी आफ्नो प्रेमीको मृत्युको चिठी पढी । आफुलाई धिक्कारी,पेल्मुलाई धिक्कारी सबैभन्दा धेरै त मायाको मूल्य नबुझ्ने मान्छेको जातलाई प्रेम गर्ने आफ्नो मनलाई धिक्कारी । रुँदैरुँदै पेल्मुको बाको घर तिर गई । पेल्मुको घर पुग्दा पेल्मुको बाको हातमा एउटा पखेटा केहि  डढेको पेल्मु रोइरहेको थियो । पेल्मुको बा पनि रुँदै भन्दैथियो  ".... तेरो बा हुँ म । तँ सुगा बनेर आए पनि तँ भुवा बनेर आएपनि चिन्छु । ... तँ... अ  अ ............. ।  
बोलि पुरा नहुँदै बुढाले देह त्यागिसकेको थियो । सुगी र पेल्मु अहिले सँगै बसेर रोइरहेका थिए ।  




----------------------------------------------------------------------------------------------------------------------------------------------------

( यो कथा Nepal Live र ramaelo.com मा पनि आएको थियो ।  पढ्न तलका  लिंकमा क्लिक गर्नुहोला ।   http://nepallive.com/news-details/4982/2017-11-03

http://ramaelo.com/2017/10/29/5437/ )